प्रतिनिधिसभा विवाद, एमाले सांसद राईको अभिव्यक्तिपछि बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा विवाद, एमाले सांसद राईको अभिव्यक्तिपछि बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र राई र सभामुख डीपी अर्यालबीच भएको भनाभनले सदनमा विवाद सिर्जना भएको छ। सांसद राईको अभिव्यक्तिप्रति सभामुखले आपत्ति जनाउँदै बोल्न रोकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

सदनमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै “तपाईं कान सुन्नुहुन्छ कि हुन्न?” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई सभामुख अर्यालले आफ्नो तथा संसद्को मर्यादाविपरीत भएको भन्दै तत्काल आपत्ति जनाए।

सभामुखले राईलाई सम्बोधन गर्दै मर्यादित भाषा प्रयोग गर्न आग्रह गरे। उनले भने, “आफ्नो भनाइ मर्यादाभित्र रहेर व्यक्त गर्नुहोस्। सभामुखको अपहेलना र सभाको मर्यादामा आँच आउने अभिव्यक्ति स्वीकार्य हुँदैन। त्यसकारण अहिलेका लागि बस्नुस्।”

सभामुखले बोल्न नदिएपछि एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउन थालेका थिए।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले पनि सांसद राईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त टिप्पणी संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरिन्। विवाद चर्किएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

बैठक पुनः सञ्चालन भएपछि सभामुखले सांसद राईलाई माफी माग्दै आफ्नो अभिव्यक्ति सच्याउने अवसरस्वरूप फेरि बोल्न समय दिएका थिए। तर राईले पुनः सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै “तपाईंले पाँच वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ” भन्ने अभिव्यक्ति दिएपछि सदनको वातावरण थप तनावपूर्ण बनेको थियो।

घटनापछि प्रतिनिधिसभाको बैठक केही समयका लागि प्रभावित भएको छ भने सांसद राईको अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षबीच विवाद बढेको देखिएको छ।