

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा नयाँ पार्टी गठन गर्ने वा पार्टी एकताको विषयमा अब थप ढिलाइ नगर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्। कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा अधिकांश नेताहरूले पार्टी एकता सम्भव नभए वैकल्पिक राजनीतिक शक्ति वा नयाँ पार्टी निर्माणबारे शीघ्र निर्णय गर्न नेतृत्वलाई सुझाव दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले अधिकांश वक्ताको साझा धारणा अब अलमल नगरी छिटो निर्णय गर्नुपर्ने रहेको बताए। उनका अनुसार बैठकमा पार्टी एकता कसरी सम्भव बनाउन सकिन्छ र एकता हुन नसके कांग्रेसको वैकल्पिक राजनीतिक धारलाई कसरी अघि बढाउने भन्ने विषयमा पाँच जना नेताले धारणा राखेका थिए।
विश्वकर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई समेत विश्लेषण गर्दै सबै वक्ताले पार्टी एकताप्रति चिन्ता व्यक्त गरेको बताए। उनले कांग्रेसको वैचारिक निरन्तरता कायम राख्न सबै नेताहरू एक ठाउँमा बसेर साझा निर्णय गर्नुपर्नेमा जोड दिँदै आवश्यक परे वैकल्पिक शक्ति वा नयाँ संगठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा अधिकांश नेताहरूले राखेको जानकारी दिए।
उनका अनुसार अब अनावश्यक आशंका र अन्योलमा नअल्झी स्पष्ट निर्णयसहित अघि बढ्नुपर्नेमा बैठकमा सहभागी अधिकांश नेताहरू एकमत देखिएका छन्। सोमबारदेखि सुरु भएको संस्थापन इतर पक्षको बैठक बुधबार पनि जारी रहनेछ। बैठक बुधबार दिउँसो २ बजे काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने नेता विश्वकर्माले जानकारी दिए।