आज बस्दै प्रतिनिधिसभा बैठक, विशेष सेवा ऐनदेखि राष्ट्र बैंक संशोधनसम्मका महत्त्वपूर्ण विधेयक पेश हुँदै

आज बस्दै प्रतिनिधिसभा बैठक, विशेष सेवा ऐनदेखि राष्ट्र बैंक संशोधनसम्मका महत्त्वपूर्ण विधेयक पेश हुँदै

प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र श्रममन्त्रीका तर्फबाट विभिन्न विधेयक तथा प्रस्ताव संसदमा प्रस्तुत गरिने

काठमाडौं। सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण विधेयक र प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछिन्।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। उनले आईएलओको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि विचार गरियोस् भन्ने अर्को प्रस्ताव पनि प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा वित्तीय, कानुनी, सांस्कृतिक तथा श्रम क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय प्रतिबद्धतासम्बन्धी प्रस्तावमाथि प्रारम्भिक संसदीय प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।