

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै छ। नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडीको भविष्य तय गर्ने अक्सन दिउँसो १ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानका अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न टोलीमा आबद्ध हुनेछन्।
यस वर्ष अक्सनका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। प्रारम्भिक छनोटपछि १५५ खेलाडी मात्र अन्तिम सूचीमा परेका हुन्। ती खेलाडीलाई क्षमता र अनुभवका आधारमा तीन श्रेणीमा विभाजन गरिएको छ।
अक्सनमा श्रेणी ‘ए’ मा ५, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी समावेश छन्। फ्रेन्चाइज टोलीमध्ये जनकपुर बोल्ट्ससँग सबैभन्दा बढी ६६ लाख २५ हजार रुपैयाँ खर्च गर्ने सीमा रहेको छ भने काठमाडौं गोर्खाजसँग सबैभन्दा कम ३४ लाख रुपैयाँ मात्र बजेट बाँकी छ।
यस संस्करणको एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। तेस्रो संस्करणको अक्सनले अब टोलीहरूको बलियो संयोजन कस्तो बन्छ भन्नेमा क्रिकेट समर्थकको चासो केन्द्रित भएको छ।