

काठमाडौं। ब्राजिलका महान् फुटबलर तथा स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को अप्रत्याशित हार बेहोरेसँगै ३४ वर्षीय नेयमारले ब्राजिलको राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो ऐतिहासिक यात्रामा पूर्णविराम लगाएका हुन्।
विश्व फुटबलका करोडौं समर्थकका लागि भावुक बनेको यो क्षणमा नेयमारले राष्ट्रिय टोलीको जर्सीमा आफ्नो अन्तिम खेल खेले। खेल समाप्तिपछि उनी भावुक देखिए र आँसु थाम्न सकेनन्।
पराजयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘मैले धेरै प्रयास गरें। मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो। अब सबै सकियो।’
अमेरिकाको न्युजर्सीस्थित रंगशालामा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए। ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल गरे पनि त्यो टोलीलाई क्वाटरफाइनल पुर्याउन पर्याप्त भएन।
लामो समय घाइते रहेपछि मात्र मैदान फर्किएका नेयमार यस विश्वकपमा पूर्ण लयमा देखिन सकेनन्। चोटका कारण उनले ब्राजिलका सुरुआती खेलहरू गुमाए भने फिटनेस पुनः प्राप्त गरेपछि पनि अधिकांश समय प्रशिक्षकको पहिलो रोजाइ बन्न सकेनन्।
स्कटल्यान्ड र नर्वेविरुद्धको खेलमा उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोल नै उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो।
सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलको पुरुष राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम गरेका छन्। उनले चार संस्करणको फिफा विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरे पनि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना भने पूरा हुन सकेन।
यद्यपि राष्ट्रिय टोलीका लागि उनको योगदान केवल गोलमा सीमित रहेन। उनले कठिन समयमा टोलीलाई नेतृत्व गर्दै ब्राजिललाई थुप्रै महत्त्वपूर्ण जित दिलाए र एक पुस्ताका समर्थकलाई अविस्मरणीय क्षणहरू उपहार दिए।
विश्वकपको सपना अधुरै रहे पनि नेयमारले ओलम्पिक फुटबलमा भने इतिहास रचे। सन् २०१२ को लन्डन ओलम्पिकमा ब्राजिललाई रजत पदक दिलाएका उनले सन् २०१६ को रियो ओलम्पिकमा कप्तानी गर्दै ब्राजिललाई पहिलोपटक ओलम्पिक फुटबलको स्वर्ण पदक जिताएका थिए।
नेयमारको अन्तर्राष्ट्रिय सन्याससँगै ब्राजिल फुटबलको एक स्वर्णिम अध्याय समाप्त भएको छ। उनको जादुमयी ड्रिब्लिङ, सृजनात्मक खेल, निर्णायक गोल र भावनात्मक नेतृत्व विश्व फुटबलका समर्थकले लामो समयसम्म सम्झिरहनेछन्।