ब्राजिल–नर्वे भिडन्त आज : हालान्ड र भिनिसियसबीचको महाभिडन्त

ब्राजिल–नर्वे भिडन्त आज : हालान्ड र भिनिसियसबीचको महाभिडन्त

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम–१६ अन्तर्गत आज पाँचपटकको विश्वविजेता ब्राजिल र उत्कृष्ट लयमा रहेको नर्वेबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने खेल नेपाली समयअनुसार सोमबार बिहान १:४५ बजे सुरु हुनेछ। विश्व फुटबलका दुई स्टार खेलाडी अर्लिङ हालान्ड र भिनिसियस जुनियरबीचको प्रतिस्पर्धाका कारण यो खेलप्रति विशेष चासो देखिएको छ।

ब्राजिलले प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेले पनि त्यसपछि हाइटी र स्कटल्यान्डलाई समान ३–० ले पराजित गर्दै लय समातेको थियो। राउन्ड अफ ३२ मा भने सुरुआती गोलले पछि परेको अवस्था उल्टाउँदै जापानलाई २–१ ले हराएर अन्तिम–१६ मा पुगेको हो।

यता, २८ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको नर्वे यसपटकको प्रतियोगिताको ‘डार्क हर्स’ टोलीका रूपमा उदाएको छ। समूह चरणमा सेनेगल र इराकलाई पराजित गरेको नर्वेले राउन्ड अफ ३२ मा आइभरी कोस्टलाई २–१ ले हराउँदै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको थियो।

हालान्ड VS भिनिसियस

नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डले जारी विश्वकपमा ५ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। कप्तान मार्टिन ओडेगार्डको सिर्जनात्मक खेलले हालान्डलाई थप प्रभावकारी बनाएको छ।

ब्राजिलका भिनिसियस जुनियरले पनि समूह चरणका सबै खेलमा गोल गर्दै टोलीको आक्रमण सम्हालिरहेका छन्। मिडफिल्डर ब्रुनो गुइमारेसले ४ असिस्ट गरेका छन् भने राफिन्हाको टोलीमा पुनरागमनले ब्राजिललाई थप बलियो बनाएको छ।

रोचक इतिहास

ब्राजिल र नर्वेबीचको प्रतिस्पर्धाको इतिहास पनि निकै रोचक छ। सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २–१ ले हराएको सम्झना अझै ताजा छ। त्यसैले ब्राजिलका लागि नर्वे सधैं चुनौतीपूर्ण प्रतिद्वन्द्वी मानिन्छ।

प्रिमियर लिगमा आर्सनलका डिफेन्डर ग्याब्रियल मागालहसविरुद्ध म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डको प्रतिस्पर्धा पनि यस खेलको अर्को आकर्षण हुनेछ। हालान्डले ग्याब्रियलविरुद्ध प्रिमियर लिगमा ६ गोल गरिसकेका छन्।

गोलको वर्षा हुने अनुमान

ब्राजिलले पछिल्ला १२ खेलमा लगातार गोल गर्दै अपराजित यात्रा कायम राखेको छ भने नर्वे हालान्डको गोल गर्ने क्षमतामा भर पर्दै आएको छ। फुटबल विश्लेषकहरूले दुवै टोलीको आक्रामक शैलीका कारण खेलमा प्रशस्त गोल हुन सक्ने अनुमान गरेका छन्।

पाँचपटकको विश्वविजेता ब्राजिल आफ्नो प्रतिष्ठा जोगाउने लक्ष्यमा हुनेछ भने २८ वर्षपछि नकआउट चरणमा फर्किएको नर्वे इतिहास रच्ने दाउमा रहनेछ। क्वार्टरफाइनलको टिकट कसले हात पार्छ भन्ने निर्णय भने मैदानमा हुने ९० मिनेट (वा त्यसभन्दा बढी) ले गर्नेछ।