

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ अन्तर्गत राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको मियामी स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले निर्णायक प्रदर्शन गर्दै जित हात पारेको हो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले बराबरी गोल फर्काएपछि खेल १–१ मा पुगेको थियो।
अतिरिक्त समयको सुरुमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। त्यसको केही समयपछि १०३औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई पुनः २–२ को बराबरीमा ल्याए।
खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो, जुन अन्तिमसम्म कायम रह्यो।यस जितसँगै अर्जेन्टिनाले विश्वकपको प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा स्थान बनाएको छ भने केप भर्डेको ऐतिहासिक विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ।