अष्ट्रियामाथि ३-० को सहज जित, स्पेन विश्वकपको अन्तिम १६ मा

अष्ट्रियामाथि ३-० को सहज जित, स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौं । सन् २०१० को विश्व च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। राउन्ड अफ ३२ अन्तर्गतको खेलमा अष्ट्रियालाई ३-० गोलले पराजित गर्दै स्पेनले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो।

स्पेनको जितमा मिकेल ओयार्जाबल नायक बने। उनले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे।

खेलको ३६औँ मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको स्पेनले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो।

खेलको ६६औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता २–० मा पुर्‍याए। त्यसपछि खेलको ८९औँ मिनेटमा ओयार्जाबलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको ३-० को सहज जित सुनिश्चित गरे।

यस प्रभावशाली जितसँगै स्पेनले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ, जबकि अष्ट्रियाको विश्वकप यात्रा राउन्ड अफ ३२ बाटै समाप्त भएको छ।