तीन दिनको गिरावटपछि सुनको मूल्यमा उच्च उछाल, तोलामा ६ हजार २ सय रुपैयाँ वृद्धि

तीन दिनको गिरावटपछि सुनको मूल्यमा उच्च उछाल, तोलामा ६ हजार २ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार तीन दिनसम्म घटेको सुनको मूल्य बिहीबार उच्च दरले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ३ सय रुपैयाँमा झरेको थियो। त्यसभन्दा अघिल्लो दिन मंगलबार ४ हजार ५ सय रुपैयाँ र सोमबार १ हजार ४ सय रुपैयाँले मूल्य घटेको थियो। तीन दिनमा कुल ६ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आजको वृद्धिसँगै पुनः उकालो लागेको हो।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १८० रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ७० रुपैयाँ कायम रहेको थियो।

नेपाली बजारमा यसअघि माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गरेको थियो। त्यसदिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

त्यसैगरी, चाँदीको मूल्य पनि माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो। त्यसको तीन दिनपछि माघ १८ गते भने चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन चाँदीको इतिहासकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।