मुख छोपेर बाेल्दा इक्वेइडरका हिकापिएलाई रातो कार्ड

मुख छोपेर बाेल्दा इक्वेइडरका हिकापिएलाई रातो कार्ड

काठमाडौं । मौसमका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेलमा सह-आयोजक मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

एज्टेका स्टेडियममा भएको खेलमा मेक्सिकोले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै दुई गोल गर्‍यो। दोस्रो हाफमा पनि खेलमा नियन्त्रण कायम राख्दै उसले सहज जित निकालेको हो।

मेक्सिकोका लागि पहिलो गोल जुलियन क्विनोनेसले गरे। कोलम्बियामा जन्मिएका विङ्गर क्विनोनेसले बायाँ भागबाट बल अघि बढाउँदै उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। जारी प्रतियोगितामा यो उनको तेस्रो गोल हो।

त्यसपछि क्विनोनेसकै पासमा अनुभवी फरवार्ड राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता २-० बनाए। इक्वेडरका डिफेन्डर जोएल ओर्डोनेजको गल्तीको फाइदा उठाउँदै जिमेनेजले सहज रूपमा गोल गरेका थिए।

खेलको सुरुवाती १० मिनेटमै मेक्सिकोले चार स्पष्ट गोलका अवसर सिर्जना गरेको थियो। सन् १९६६ यताका विश्वकप इतिहासमा मेक्सिकोले खेलको सुरुआती १० मिनेटमा यति धेरै अवसर बनाएको यो पहिलो पटक हो।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कने प्रयास गरे पनि मेक्सिकोको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। खेलको अन्त्यतिर इक्वेडरका डिफेन्डर पिएरो हिकापिए रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली थप दबाबमा परेको थियो।

हिकापिएले विपक्षी खेलाडीसँग मुख छोपेर अपशब्द प्रयोग गरेको ठहर गर्दै रेफ्रीले उनलाई रातो कार्ड दिएका हुन्। यस संस्करणदेखि फिफाले लागू गरेको नयाँ नियमअनुसार यस्तो व्यवहारमा प्रत्यक्ष रातो कार्ड दिइने व्यवस्था छ। यसअघि समूह चरणमा पाराग्वेका मिग्युल अल्मिरोन पनि यही नियमका कारण रातो कार्ड पाउने पहिलो खेलाडी बनेका थिए।

यो जितसँगै प्रशिक्षक जाभियर एगिरेको नेतृत्वमा रहेको मेक्सिको अन्तिम १६ मा पुगेको छ। अब उसले प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्ड वा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।