लगातार छैटौं दिन पनि घट्यो नेप्से, १६.५४ अंकको गिरावट

लगातार छैटौं दिन पनि घट्यो नेप्से, १६.५४ अंकको गिरावट

काठमाडौं । नेपाली सेयर बजार लगातार छैटौं कारोबार दिन पनि ओरालो लागेको छ। गत साताका पाँचै कारोबार दिन घटेको बजार यो साताको पहिलो कारोबार दिन सोमबार पनि १६.५४ अंकले घट्दै २,६३२.०० बिन्दुमा बन्द भएको हो।

गत साताको सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक र शुक्रबार २.०० अंकले नेप्से घटेको थियो। सोमबार पनि कारोबार अवधिभर बजार राताम्मे रह्यो।

बजारमा आएको गिरावटको प्रमुख कारण नयाँ कम्पनी ऐन–२०८३ को मस्यौदामा सेयर हस्तान्तरण वा खरिद–बिक्री गर्दा प्राप्तकर्ताले १ प्रतिशत हस्तान्तरण शुल्क तिर्नुपर्ने प्रस्तावलाई मानिएको छ। यद्यपि सम्बन्धित निकायले उक्त प्रस्ताव फिर्ता हुने स्पष्ट पारिसकेको छ।

कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भयो। कारोबार भएका कम्पनीमध्ये २९ वटाको सेयर मूल्य बढ्दा २४० वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो।

सोमबार सबै उपसमूहका परिसूचक घटेका छन्। निर्जीवन बीमा उपसमूह १.३९ प्रतिशतले सबैभन्दा धेरै घट्दा उत्पादन तथा प्रशोधन १.१४ प्रतिशत, होटल तथा पर्यटन १.१४ प्रतिशत तथा फाइनान्स १.१३ प्रतिशतले ओरालो लागे। बैंकिङ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ र व्यापार उपसमूह ०.३२ प्रतिशतले घटेका छन्।

यता, स्नो रिभर फल्स, टक्सार पिखुवाखोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यीमध्ये तीन कम्पनी हालै मात्रै नेप्सेमा सूचीकृत भएका हुन्। त्यस्तै, लक्ष्मी सनराइज बैंकको सेयर मूल्य २.६४ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.८३ प्रतिशतले घट्यो। त्यसपछि सोपान फर्मास्युटिकल्स ४.५० प्रतिशत, एसियन हाइड्रोपावर ४.४० प्रतिशत र शिखर पावर ३.७९ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा सोमबार ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् अग्रस्थानमा रहेका छन्।