शुरु भयो तिहार, यमपञ्चकको पहिलो दिन काग पूजा गरिदै

शुरु भयो तिहार, यमपञ्चकको पहिलो दिन काग पूजा गरिदै

काठमाडाैँ । हिन्दुहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ यमपञ्चक पनि भनिन्छ ।

यमपञ्चकमा काग, कुकुर, गाई, गोबर्धन, र भाई पूजा गर्ने प्रचलन छ । नेवार समुदायमा म्ह: पूजा पनि यसै यमपन्चकको चौंथो दिन अर्थात् गोबर्धन पूजा गरिने चलन छ । तिहारमा विशेष गरि धनधन्यकी देवी लक्ष्मीको पूजा आरधना गर्ने परम्परा रहिआएको छ ।

तिहारको पहिलो दिन काग तिहार । कागको पूजा आजा गरी मनाइँदै छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ । शुभ र अशुभ सन्देश पुर्याउने दुतको रुपमा मानिएको कागलाई आज पूजाआजा गरी भात र रोटी दिने चलन छ ।

के हो काग पूजा भनेको ?
ज्योतिष मेघनाथ रेग्मीका अनुसार, हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ ।

तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार पहिलो दिन अर्थात कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । त्यहि भएर चर्को आवाज निकालेर कराउने यस चरालाई काग तिहार बाहेक अरु बेला भने अशुभ र अशुद्ध पन्छीका रुपमा लिइन्छ ।

काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ । तर काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

त्यसै गरि तिहारको अन्तिम दिन मनाइने भाईटिकाले दाजुभाई र दिदीबहिनी बीचको प्रेमसम्बन्धमा यस पर्वले विशेष महत्व राख्दछ ।