ग्लोबल आइएमई बैंकले ‘उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने, उद्यमीबाट आवेदन आह्वान

ग्लोबल आइएमई बैंकले ‘उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने, उद्यमीबाट आवेदन आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) को प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले उद्यमशाला कार्यक्रमको औपचारिक घोषणा गर्दै इन्क्युबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनशील सोच भएका व्यक्तिबाट आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नयाँ सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला उद्यमलाई दिगो, प्रतिस्पर्धी र प्रतिष्ठित व्यवसायका रूपमा विकास गर्न आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र परामर्श उपलब्ध गराउनु हो।

काठमाडौंको कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै आवेदन खुला भएको घोषणा गरे।

उनले लघु, साना तथा मझौला उद्यमीले भोगिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी र प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान तथा समस्या समाधानका उपाय उपलब्ध गराइने जानकारी दिए।

बैंकले उद्यमशाला कार्यक्रमअन्तर्गत इन्क्युबेसनएक्सिलेरेसन गरी दुई प्रकारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

इन्क्युबेसन कार्यक्रम नयाँ तथा नवप्रवर्तनशील व्यावसायिक अवधारणा भएका, तर व्यवसाय कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत सहभागीको क्षमता अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार तथा मार्गदर्शन प्रदान गरिनेछ।

त्यसैगरी, एक्सिलेरेसन कार्यक्रम हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीका लागि केन्द्रित हुनेछ। यसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सम्बन्धित निकायसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।

कार्यक्रममार्फत सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा बैंक तथा वित्तीय संस्थासँगको पहुँचलगायत विषयमा व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकको विश्वास छ।

उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका अधिकारी, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंकले बैंक अफ द इयर–२०१४, बेस्ट इन्टरनेट बैंक–२०१६, बेस्ट बैंक नेपाल–२०२४, २०२५ र २०२६, युरोमनी अवार्ड फर एक्सिलेन्स–२०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल–२०२४ तथा बेस्ट इम्प्लोयरलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।

बैंक हाल मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले बैंकिङ सेवासँगै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।