स्पेन समूह विजेता बन्दै नकआउट चरणमा, डेब्यूमै केप भर्डेको ऐतिहासिक यात्रा

स्पेन समूह विजेता बन्दै नकआउट चरणमा, डेब्यूमै केप भर्डेको ऐतिहासिक यात्रा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। स्पेनको जितमा एलेक्स बाएनाले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ४२औँ मिनेटमा गरेको गोलले स्पेनलाई महत्वपूर्ण तीन अंक दिलायो।

यस जितसँगै स्पेनले तीन खेलबाट ७ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थान हासिल गर्यो र राउन्ड अफ ३२ मा स्थान सुरक्षित गर्यो। उता, उरुग्वेले भने समूह चरणमा दुई खेल बराबरी र एक खेलमा हार बेहोर्दै २ अंक मात्रै जोड्न सक्यो। यससँगै उरुग्वे तेस्रो स्थानमा सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूहको अर्को खेलमा केप भर्डे र साउदी अरेबियाबीच गोलरहित बराबरी भयो। उक्त नतिजासँगै विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले तीनै खेल बराबरी खेल्दै ३ अंकसहित समूह उपविजेताको रूपमा नकआउट चरणमा ऐतिहासिक प्रवेश गरेको छ। डेब्यू विश्वकपमै समूह चरण अपराजित रहँदै अन्तिम ३२ मा स्थान बनाउन सफल केप भर्डेको यो उपलब्धिलाई प्रतियोगिताको उल्लेखनीय सफलतामध्ये एक मानिएको छ।