

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार संघीय संसद्को प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।
राष्ट्रपति पौडेलले बिहीबार उक्त विधेयक प्रमाणीकरण गरेसँगै यसले कानुनी मान्यता प्राप्त गरेको छ। विधेयक प्रमाणीकरण भएपछि वैकल्पिक स्रोतमार्फत विकास वित्त परिचालन गर्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था कार्यान्वयनको मार्ग खुला भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संविधानअनुसार संघीय संसद्बाट पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुने व्यवस्था रहेको छ। राष्ट्रपति पौडेलको प्रमाणीकरणसँगै वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुनी संरचना कार्यान्वयनतर्फ अघि बढेको छ।
