

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचनमा कुल २ हजार ९५९ मत खसेको निर्वाचन आयोगले जनाएको छ। मतदान सकिएसँगै अहिले मुचुल्का तयार गर्ने तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्ने काम भइरहेको निर्वाचन आयोग स्रोतले जनाएको छ। त्यसपछि मतगणना सुरु गरिनेछ।
रास्वपाले ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि मतदान गराएको हो। केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक भएपछि आजै पदाधिकारी चयनका लागि पनि मतदान हुने कार्यक्रम रहेको छ।
पार्टी नेता मनिष झाका अनुसार खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई जना खुला सहमहामन्त्री तथा दुई जना महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ।यसअघि सभापति पदमा एकल उम्मेदवारी परेपछि पार्टी सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनको बन्दसत्र चितवनमा जारी छ।