मनसुन विपद्का लागि सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टान्डबाई

मनसुन विपद्का लागि सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टान्डबाई

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि देशभर ८ हजार १८० जना सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ।

सशस्त्र प्रहरीले बिहीबार ‘मनसुन विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल परिचालन, पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ सार्वजनिक गर्दै विपद् प्रतिकार्यका लागि आवश्यक तयारी पूरा गरिएको जनाएको हो।

योजनाअनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ बमोजिम देशभर कार्यरत २१ हजार ६९९ सशस्त्र प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिएको छ। असार मसान्तभित्र सम्पूर्ण सशस्त्र प्रहरीलाई उक्त तालिम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन देशभरका कार्यालयमा ‘डिजास्टर फोकल पर्सन’ तोकिएको छ भने अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वयको व्यवस्था मिलाइएको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूमा समन्वयका लागि सञ्चार तालिम प्राप्त ९५ जना सशस्त्र प्रहरी कर्मचारी खटाइएको छ।

सशस्त्र प्रहरीले उद्धार टोली तत्काल पुग्न कठिन हुने जोखिमयुक्त क्षेत्रलाई लक्षित गर्दै सातै प्रदेशका ५४ स्थानमा अस्थायी मनसुन बेस स्थापना गरेको जनाएको छ। तीमध्ये कोशी प्रदेशमा ६, मधेशमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा अस्थायी बेस सञ्चालनमा रहेका छन्।

यसका साथै देशभरका १६ वटा उच्च जोखिमयुक्त स्थानमा स्थायी विपद् व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति, उद्धार सामग्री तथा स्रोतसाधनसहित तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

मनसुन सक्रिय भएसँगै सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को सामना गर्न सशस्त्र प्रहरी बलले पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।