

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)की पत्नी सविना काफ्लेले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण दिएकी छन्।
चितवनबाट काठमाडौं फर्किने क्रममा एक सुरक्षाकर्मीले ब्याग बोकेको तस्बिर सार्वजनिक भएपछि उक्त ब्याग आफ्नो भएको भन्दै विभिन्न टिप्पणी र समाचार प्रकाशित भएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै काफ्लेले सम्बन्धित ब्याग आफ्नो नभई सुरक्षाकर्मीकै व्यक्तिगत सामान भएको स्पष्ट पारेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्, “जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँकै निजी हो। तर विभिन्न अड्कलबाजी र अनुमानका आधारमा मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको छ।”
काफ्लेले नयाँ राजनीतिक नेतृत्व र उनीहरूका परिवारलाई पुराना राजनीतिक पात्रहरूसँग तुलना गर्दै नकारात्मक भाष्य निर्माण गर्न खोजिएको आरोप पनि लगाएकी छन्। उनका अनुसार पछिल्लो समय आफूलाई लक्षित गरी तथ्यहीन समाचार र टिप्पणीहरू सार्वजनिक भइरहेका छन्।
तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गरिएको भन्दै उनले सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले सत्यता नबुझी प्रकाशित हुने समाचारले व्यक्तिको प्रतिष्ठामा असर पुग्ने उल्लेख गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याएकी छन्।
काफ्लेले आफू एउटा सामान्य नागरिकका रूपमा आफ्नो धारणा राखिरहेको बताउँदै अनावश्यक विवादमा समय खर्च गर्न नचाहेको उल्लेख गरेकी छन्। साथै, प्रेस काउन्सिल वा कानुनी उपचारका विकल्प भए पनि हालका लागि तथ्य स्पष्ट पार्ने उद्देश्यले मात्र स्पष्टीकरण दिएको जनाएकी छन्।
उनले राजनीतिक व्यक्तित्व र तिनका परिवारमाथि सार्वजनिक निगरानी हुनु स्वाभाविक भए पनि गलत सूचना र आधारहीन आरोपमार्फत चरित्र हत्या गर्ने प्रयास स्वीकार्य नहुने बताएकी छन्।