कोलम्बियाको लगातार दोस्रो जित, डिआर कंगोलाई १-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश

कोलम्बियाको लगातार दोस्रो जित, डिआर कंगोलाई १-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले डिआर कंगोलाई १–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।

मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाका ड्यानिएल मुनोजले दोस्रो हाफमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। उनले ७६औँ मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गरेका थिए।

कोलम्बियाले पहिलो खेलमा उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको थियो। लगातार दुई जितसँगै कोलम्बियाले ६ अंक जोड्दै समूह ‘के’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

पहिलो हार व्यहोरेको डिआर कंगो दुई खेलपछि १ अंकसहित तेस्रो स्थानमा रहेको छ। खेलमा कोलम्बियाले सुरुदेखि नै दबाब बनाए पनि गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो। पहिलो हाफमा कंगोका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दै धेरै अवसर रोक्दा कोलम्बिया अग्रता लिन असफल भएको थियो।

खेल अवधिभर कोलम्बियाले १९ सट प्रहार गरेको थियो, जसमध्ये ९ सट अन टार्गेट थिए। कंगोले भने ८ सट प्रहार गर्दा केवल १ सट मात्र अन टार्गेट रह्यो। कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। पोर्चुगलले पनि पछिल्लो खेलमा उज्बेकिस्तानलाई ५-० ले पराजित गरेको छ। यता डिआर कंगोले अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ। उक्त खेल जितेमा कंगोको नकआउट चरण पुग्ने सम्भावना कायम रहनेछ।