

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि तेब्बरभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार मंगलबार साँझ ७ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया बुधबार बिहान २ बजेसम्म सञ्चालन गरिएको थियो।
‘प्रारम्भिक विवरणअनुसार ४ सयभन्दा बढी उम्मेदवारी दर्ता भएका छन्। अहिले उम्मेदवारहरूको नाम रुजु गर्ने काम भइरहेको छ,’ गुरुङले बताए। उनका अनुसार केन्द्रीय सदस्य पदका लागि अधिकांश मन्त्री, सांसद तथा पार्टीका सक्रिय नेताहरूले उम्मेदवारी दिएका छन्। रास्वपामा हाल १८२ जना सांसद र १६ जना मन्त्री रहेका छन्।
पार्टी विधानअनुसार पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यको निर्वाचन हुने व्यवस्था छ। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन आयोगले उम्मेदवारमाथि दाबी–विरोध र उम्मेदवारी फिर्ताको समय दिएपछि बुधबार नै केन्द्रीय सदस्य पदका लागि मतदान गराउने तयारी गरेको छ। उम्मेदवारी दर्तापछि आकांक्षीहरूले मंगलबार साँझदेखि नै मत माग्ने अभियान सुरु गरेका थिए। मतदान चितवन उद्योग संघ परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा हुने जनाइएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। यो नियमविपरीत दर्ता भएका उम्मेदवारी स्वतः खारेज हुने आयोगले जनाएको छ।
निर्वाचन कार्यविधिअनुसार सभापति पदका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ भने केन्द्रीय सदस्य पदका लागि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ।