

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।
अदालतको आदेशअनुसार अब अनुसन्धानको आवश्यकता र प्रगतिका आधारमा विभागले थप म्याद आवश्यक परे पुनः विशेष अदालतसमक्ष उपस्थित गराउनुपर्नेछ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल लाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको बताइएको छ।
पक्राउपछि उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। त्यसपछि अनुसन्धानका लागि म्याद थपको मागसहित विशेष अदालतमा उपस्थित गराइएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ। अदालतबाट प्राप्त अनुमति अनुसार अब विभागले आगामी सात दिनभित्र आवश्यक अनुसन्धान कार्य सम्पन्न गर्नेछ।