सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले सम्मान गर्छ, तर सदस्यका रूपमा चिन्दैन : गगन थापा

सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले सम्मान गर्छ, तर सदस्यका रूपमा चिन्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सम्मान गरे पनि क्रियाशील सदस्यका रूपमा मान्यता नदिने बताएका छन्। झापामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले पार्टीको नयाँ सदस्यता प्रणाली र अधिवेशन प्रक्रियामा अद्यावधिक सदस्यतालाई अनिवार्य बनाइएको उल्लेख गरे। उनले अप्रत्यक्ष रूपमा सदस्यता नवीकरण नगरेका नेताहरूप्रति संकेत गर्दै नियम सबैका लागि समान रूपमा लागू हुने बताए।

थापाले भने, “म सबै नेताहरूलाई सम्मान गर्छु र सबैले अधिवेशनमा सहभागी हुनुपर्छ भन्ने मान्यता राख्छु। तर सदस्यता अद्यावधिक नगरेको व्यक्तिलाई पार्टीले सम्मान र माया गरे पनि सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।”

उनले आगामी वडा अधिवेशनदेखि अद्यावधिक सदस्यता भएका व्यक्तिहरू मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने स्पष्ट पारे। उनका अनुसार डिजिटल प्रणालीमा नाम नदेखिने व्यक्तिलाई क्रियाशील सदस्यको हैसियत प्राप्त हुने छैन।

थापाले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएकोमा सन्तोष व्यक्त गर्दै युवालाई अवसर दिनुपर्ने धारणा राखे। उनले कांग्रेसलाई भविष्यमा सक्षम र ऊर्जावान नेतृत्वले अघि बढाउने विश्वास व्यक्त गरे।

उनले भने, “कांग्रेस चलाउन सक्ने नयाँ पुस्ताका धेरै सक्षम साथीहरू आएका छन्। उनीहरूलाई देख्दा खुसी लाग्छ। पार्टीलाई नयाँ पुस्ताले सम्हाल्नुपर्छ। पद र कुर्सीमा मात्रै अड्किएर राजनीति अघि बढ्दैन।” कांग्रेसमा सदस्यता अद्यावधिकको विषयलाई लिएर विभिन्न समूहबीच छलफल भइरहेका बेला सभापति थापाको यो अभिव्यक्ति अर्थपूर्ण रूपमा हेरिएको छ।