

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासनको मूल आधार कानुनभन्दा माथि कोही पनि नहुने सिद्धान्त रहेको बताएका छन्। झापामा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले अनुसन्धान र कानुनी प्रक्रियामा कांग्रेसले कुनै अवरोध नगर्ने स्पष्ट पारे। उनले दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए।
थापाले भने, “सरकारले अनुसन्धान गरोस्, पुराना सबै फाइल खोलोस्, सबै काण्डको छानबिन गरोस्। हाम्रो पार्टीका नेता नै परे र दोषी देखिए भने पनि कांग्रेसले चुइँक्क गर्दैन। तर सबै काम कानुन र विधिको सीमाभित्र रहेर हुनुपर्छ।”
उनले कांग्रेसले नागरिकका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए। भूमिहीन सुकुम्बासीको समस्या समाधान संविधान, कानुन र सामाजिक न्यायका आधारमा हुनुपर्ने उल्लेख गर्दै सरकारले ती मापदण्ड उल्लंघन गर्न नपाउने धारणा राखे।
सभापति थापाले चिया किसानका समस्या, शिक्षा क्षेत्रका चुनौती तथा परीक्षा नतिजा प्रकाशन प्रक्रियामा देखिएका कमजोरीबारे पनि चासो व्यक्त गरे। एसईई र कक्षा १२ को नतिजा हतारमा सार्वजनिक गर्दा धेरै विद्यार्थी अन्यायमा परेको गुनासो आफूले सुनेको उनले बताए।
उनले भने, “छिटो नतिजा निकालेर वाहवाही कमाउने प्रयासमा सरकारले विद्यार्थीहरूको भविष्यप्रति पर्याप्त संवेदनशीलता देखाउन सकेन। एसईईमा जस्तै कक्षा १२ को नतिजामा पनि सयौँ विद्यार्थी समस्यामा परेका छन्। झापामै एक आमाले आफ्नो छोरा पनि त्यसको मारमा परेको बताउनुभयो। काठमाडौं फर्किएपछि यस्ता गुनासाहरूको गम्भीर रूपमा अध्ययन गर्नेछु।”
थापाले सरकारका कामकारबाहीप्रति खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै नागरिकका हक र हितका विषयमा कांग्रेस निरन्तर आवाज उठाइरहने बताए।