

काठमाडौं। फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न रोमाञ्चक खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। नर्वेको जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड चम्किए। उनले खेलको ४८औँ र ५८औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।
नर्वेका लागि पहिलो गोल भने मार्कस पेडेरेसनले ४३औँ मिनेटमा गरेका थिए। पहिलो हाफको अन्त्यतिर आएको उक्त गोलले नर्वेलाई अग्रता दिलाएको थियो।
सेनेगलले खेलमा उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गर्दै दुई गोल फर्कायो। इस्माइला सारले ५३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
समूह ‘आई’ मा लगातार दोस्रो जित हासिल गरेको नर्वेले ६ अंक जोड्दै अन्तिम ३२ मा स्थान पक्का गरेको छ। यस समूहबाट फ्रान्स पनि दुई खेलबाट ६ अंकसहित यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ।
नर्वे र फ्रान्सको उत्कृष्ट प्रदर्शनसँगै समूह ‘आई’ बाट नकआउट चरणमा पुग्ने दुई टोलीको टुंगो लागिसकेको छ। हालान्डको प्रभावशाली प्रदर्शनले नर्वेलाई उपाधि दाबेदार टोलीका रूपमा स्थापित गर्न थप मद्दत गरेको छ।