‘आफ्ना नेतालाई भगवान् नबनाउनुस्’ : रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव

‘आफ्ना नेतालाई भगवान् नबनाउनुस्’ : रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्तालाई आफ्नै पार्टीभित्र प्रश्न गर्ने संस्कृतिको विकास गर्न आग्रह गरेका छन्। आइतबार रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कुनै पनि राजनीतिक दलमा नेताहरूलाई आलोचनाभन्दा माथि राख्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि हानिकारक हुने बताए।

रास्वपाका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, “तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले आफ्ना नेताहरूलाई भगवान् र अभिभावकजस्तै ठानेर गल्ती गरिसक्यौँ। तपाईंहरूले त्यो गल्ती दोहोर्याउनु हुँदैन।” थापाले नेता वा नेतृत्वले गल्ती गर्दा आफ्नै पार्टीभित्रबाट प्रश्न उठाउने साहस हुनुपर्नेमा जोड दिए। अरू दलको आलोचना गर्नुभन्दा पहिले आफ्नै संगठनभित्र सुधारका लागि आवाज उठाउन सक्नुपर्ने उनको भनाइ थियो।

उनले नेपाली कांग्रेसले विगतमा समयमै आत्मसमीक्षा गर्न नसक्दा त्यसको राजनीतिक मूल्य चुकाउनुपरेको उल्लेख गरे। पार्टीभित्र देखिएका कमजोरीबारे खुलेर बोल्न ढिलाइ गर्दा संगठनले क्षति बेहोर्नुपरेको अनुभवबाट नयाँ पुस्ताले सिक्नुपर्ने उनको सुझाव थियो। थापाले लोकतान्त्रिक दलको बल आलोचना स्वीकार गर्ने क्षमता, आत्मसमीक्षा र सुधारको संस्कृतिमा निर्भर रहने भन्दै कार्यकर्तालाई सचेत, सक्रिय र प्रश्नशील बन्न आग्रह गरे।