नयाँ राजनीतिक संस्कार स्थापना गर्न रास्वपा आएको हो : स्वर्णिम वाग्ले

नयाँ राजनीतिक संस्कार स्थापना गर्न रास्वपा आएको हो : स्वर्णिम वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधि, नीति र संस्थागत प्रणालीमा आधारित शासन व्यवस्था स्थापित गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पुरानो पुस्तासँग संघर्ष गर्नभन्दा पनि नयाँ राजनीतिक संस्कारको विकास गर्न पार्टी स्थापना भएको स्पष्ट पारे। मुलुकमा जिम्मेवार, पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यासको आवश्यकता रहेको उनको भनाइ थियो।

“हामी पुरानो पुस्तासँग लड्न आएका होइनौँ, नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएका हौँ,” उनले भने, “राजनीतिलाई व्यक्तिकेन्द्रित होइन, विधि, नीति र संस्थामा आधारित बनाउन चाहन्छौँ।”

वाग्लेले नयाँ पुस्ताले केवल विरोधको राजनीति मात्र नभई देशलाई सही दिशा दिन सक्ने क्षमता पनि राख्छ भन्ने प्रमाणित गर्न रास्वपा प्रतिबद्ध रहेको बताए। युवाहरूको ऊर्जा, सीप र नवीन सोचलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा थियो।

उनले सुशासन, आर्थिक समृद्धि र संस्थागत सुधारलाई केन्द्रमा राखेर रास्वपाले राजनीतिक रूपान्तरणको अभियान अघि बढाएको उल्लेख गरे। मुलुकलाई नयाँ दिशा दिन पार्टी दृढतापूर्वक लागिपरेको उनको भनाइ थियो।

“हामी केवल विरोधको राजनीति गर्न आएका होइनौँ, देश रूपान्तरणको जिम्मेवारी पनि लिन तयार छौँ,” वाग्लेले भने।

उनले राजनीतिक परिवर्तनसँगै शासन प्रणाली, सार्वजनिक सेवा प्रवाह तथा विकासको सोचमा समेत व्यापक सुधार आवश्यक रहेको औँल्याउँदै त्यसका लागि रास्वपा प्रतिबद्ध रहेको बताए।