रास्वपाको प्रथम महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। पार्टीका सचिवालय संगठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयनमार्फत चयन गरिएका हुन्।

उनका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै पार्टी सभापतिबाट विधानअनुसार १३८ जना मनोनयन गरिएको छ भने समूहगत रूपमा पार्टी प्रवेश गरेकामध्ये १९२ जनालाई प्रतिनिधिका रूपमा छनोट गरिएको छ।

प्रदेशगत रूपमा प्रतिनिधि संख्या यस प्रकार रहेको छ- कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिम प्रदेशबाट ५०५ जना।

महाधिवेशन प्रतिनिधिमा पालिका सभापति, क्षेत्रीय सभापति, उपसभापति तथा जिल्ला सभापतिसहित पाँच जना रहने व्यवस्था गरिएको छ। साथै प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

त्यसैगरी संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ विभागबाट प्रत्येक विभागका ११–११ जना सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जना प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।

गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ।

प्रदेश सम्पर्क विभागबाट तीन-तीन जना तथा जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था पनि गरिएको छ।

गत प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार तथा समानुपातिक सूचीका व्यक्तिहरूलाई पनि महाधिवेशन प्रतिनिधिका रूपमा समावेश गरिएको छ। साथै २०७९ सालको निर्वाचनमा पराजित तथा पार्टीमा सक्रिय रहेका व्यक्तिहरूलाई समेत प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।