

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुभकामना व्यक्त गरेको छ।
कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै रास्वपालाई सफल महाधिवेशनको शुभकामना दिएका छन्। साथै, कांग्रेसको तर्फबाट उपसभापति डा. पुष्पा भुसाल महाधिवेशनस्थल चितवन पुगेर शुभकामना व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ।
सभापति थापाले रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति स्थापित गर्न सफल भएको उल्लेख गर्दै महाधिवेशनलाई विचार, संगठन र नीतिगत रूपमा थप परिपक्व, जिम्मेवार तथा दूरदर्शी बन्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
उनले लोकतान्त्रिक मूल्य–मान्यता, संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण तथा सार्वजनिक जवाफदेहितालाई थप सुदृढ बनाउन महाधिवेशनले सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, रास्वपा सभापति रवि लामिछानेसहित सम्पूर्ण पार्टी पंक्तिलाई सफल महाधिवेशनको शुभकामना दिएका छन्।
कांग्रेस स्रोतका अनुसार सभापति थापा स्वयं महाधिवेशनमा सहभागी हुने इच्छामा रहे पनि अन्य राजनीतिक दलहरूले वरिष्ठ नेताहरूलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेपछि कांग्रेसले उपसभापति भुसाललाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो।
रास्वपाको महाधिवेशनमा नेकपा (एमाले) का तर्फबाट प्रदीप ज्ञवाली, नेकपाका तर्फबाट वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने कार्यक्रम रहेको छ।
चितवनमा आजदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र नीतिगत मार्गचित्र तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।