

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई तीन दिनभित्र हाजिर हुन पत्र पठाएको छ।
अख्तियारले तत्कालीन परराष्ट्रमन्त्रीको हैसियतमा बयान लिनुपर्ने भन्दै उनलाई उपस्थित हुन निर्देशनसहितको पत्र पठाएको हो। हाल विदेशमा रहेकी राणालाई हङकङमै रहँदा पत्र प्राप्त भएको बताइएको छ।
अख्तियार स्रोतका अनुसार सोमबार आयोगका अधिकारीहरूले परराष्ट्र मन्त्रालयका सचिव, राहदानी विभागका महानिर्देशक तथा निर्देशकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर सोधपुछ गरेका थिए। त्यसको भोलिपल्ट नै पूर्वमन्त्री राणालाई बयानका लागि हाजिर हुन पत्र पठाइएको हो।
राणाले भने आफू विदेशमा रहेको कारण तोकिएको समयमा उपस्थित हुन नसक्ने भन्दै इमेलमार्फत जवाफ पठाएकी छन्। उनले स्वदेश फर्किएपछि मात्र आयोगमा उपस्थित हुने बताएको स्रोतले जनाएको छ।
उक्त प्रकरणमा राहदानी छपाइ प्रक्रियामा विभागीय मन्त्रीको प्रत्यक्ष हस्ताक्षर वा संलग्नता देखिने कागजात हालसम्म फेला नपरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताइन्छ।
यसअघि सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानसमेत गरिएको भए पनि पर्याप्त प्रमाण नपुगेपछि मुद्दा अघि नबढेको दाबी गरिएको छ। सोही पृष्ठभूमिमा अहिले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान केन्द्रित भएको स्रोतको भनाइ छ।