

काठमाडौं । लगातार चार कारोबार दिन घटेको सेयर बजार बुधबार भने लगभग स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन केवल ०.०८ अंकले बढेर २७०५ अंकमै कायम रह्यो।
यसअघि नेप्से मंगलबार ६.३१ अंक, सोमबार १२.२६ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले घटेको थियो। बुधबार बजारमा उतारचढाव न्यून देखिएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित भयो।
आज १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको मूल्य घट्यो भने १६ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत सूचकमा सामान्य उतारचढाव देखिएको थियो।
बैंकिङ समूह ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.६४ प्रतिशत, जीवन बीमा ०.०७ प्रतिशत, माइक्रोफाइनान्स ०.०४ प्रतिशत, निर्जीवन बीमा ०.५५ प्रतिशत, अन्य समूह ०.०८ प्रतिशत तथा व्यापार समूह ०.६० प्रतिशतले घटे।
यता उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशत, लगानी ०.५३ प्रतिशत, जलविद्युत् ०.३० प्रतिशत र फाइनान्स समूह ०.१४ प्रतिशतले वृद्धि भए। विकास बैंक समूह पनि सामान्य रूपमा ०.४६ प्रतिशतले बढ्यो।
नयाँ सूचीकृत कम्पनीमध्ये सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा १५–१५ प्रतिशतको वृद्धि भएको छ। वृद्धि पश्चात् सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य ८०८ रुपैयाँ ५० पैसा र एपोलो हाइड्रोपावरको ६९२ रुपैयाँ ७० पैसा पुगेको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ४.२४ प्रतिशतले बढेको छ। दोल्ती पावरको मूल्य ३.३५ प्रतिशत तथा कालिन्चोक हाइड्रोपावरको मूल्य २.६१ प्रतिशतले घटेको छ।
बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी रहेका छन्।