

विराटनगर । नेकपा (एमाले) को कोसी प्रदेशस्तरीय भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टीभित्र नेतृत्व परिवर्तन र व्यापक संगठनात्मक पुनर्गठनको आवश्यकता औँल्याएका छन्। विराटनगरमा मंगलबारदेखि सुरु भएको दुईदिने भेलामा प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा पार्टी संगठन सुदृढीकरणका विषयमा सुझाव संकलन गरिएको छ। एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको सुझाव संकलन कार्यदलले देशभरका नेता–कार्यकर्ताबाट राय तथा सुझाव लिने क्रममा कोसी प्रदेशमा पनि कार्यक्रम आयोजना गरेको हो।
भेलामा सहभागी एक नेताका अनुसार पार्टीलाई वडादेखि केन्द्रसम्म पुनर्गठन गर्नुपर्ने धारणा सशक्त रूपमा उठेको छ। “कम्युनिस्ट आन्दोलन नै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला पार्टीभित्र नेतृत्व परिवर्तनको आवश्यकता महसुस गरिएको छ,” उनले बताए।
छलफलका क्रममा व्यक्तिकेन्द्रित नेतृत्व शैलीका कारण पार्टीले राजनीतिक तथा निर्वाचनमा क्षति बेहोर्नुपरेको निष्कर्षसमेत प्रस्तुत गरिएको बताइएको छ। सहभागीहरूले वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म संगठनात्मक संरचनाको पुनरावलोकन गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउन सुझाव दिएका छन्।
भेलामा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल र हिक्मत कार्कीलगायत शीर्ष नेताहरूको सहभागिता रहेको छ। कोसी प्रदेशका विभिन्न जिल्लाका केन्द्रीय सदस्य र पदाधिकारीहरू पनि भेलामा सहभागी छन्।
सुझाव संकलन कार्यक्रममा पाँचथर बाहेक कोसी प्रदेशका १३ जिल्लाका पार्टी पदाधिकारी तथा पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका नेताहरूको सहभागिता रहेको जनाइएको छ।
भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका क्रममा डर र त्रासको वातावरण सिर्जना गरेर सत्ता कब्जा गरिएको आरोप लगाएका थिए। उनले वर्तमान राजनीतिक परिस्थितिबाट पार पाउन पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।
भेलामा अध्यक्ष ओलीको नेतृत्वबारे उठेका प्रश्नका सम्बन्धमा पनि छलफल भएको बताइएको छ। सहभागी एक नेताका अनुसार ओलीले हालै सम्पन्न महाधिवेशन भएको तीन महिना पनि नबित्दै अध्यक्ष परिवर्तनको चर्चा उठ्नुको आधार र विधिबारे प्रश्न गरेका थिए। एमालेले देशभर सञ्चालन गरिरहेको सुझाव संकलन अभियानबाट प्राप्त रायलाई आगामी संगठनात्मक सुधार तथा पार्टीको भावी कार्यदिशा निर्धारणमा उपयोग गर्ने जनाएको छ।