मन्त्रीहरूको अनुपस्थितिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

मन्त्रीहरूको अनुपस्थितिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा संघीय सरकारका अधिकांश मन्त्रीहरू अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको थियो। छलफलका क्रममा सांसद गोपाल शर्माले नियमापत्ति जनाउँदै विषय उठाएका थिए।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए। शर्माले प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ५ को व्यवस्था स्मरण गराउँदै मन्त्रालयगत विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुने उल्लेख गरे।

उनका अनुसार, “नियमावलीको नियम ६(५) ले मन्त्रालयसम्बन्धी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ।”

तर बैठकमा तीन जना मन्त्री मात्र उपस्थित रहेको उनले बताए। उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ मात्र उपस्थित थिए।

“सरकारले लगातार संसद्लाई उपेक्षा गर्न मिल्दैन,” सांसद शर्माले भने, “नियमअनुसार सदन सञ्चालन गरियोस् र सम्बन्धित मन्त्रीलाई उपस्थित गराउने व्यवस्था गरियोस्।”

त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।