चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनालको उच्चस्तरीय भेटवार्ता, सहकार्य विस्तारमा जोड

चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनालको उच्चस्तरीय भेटवार्ता, सहकार्य विस्तारमा जोड

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार बेइजिङमा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का राष्ट्रिय समिति अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन्।

सीपीपीसीसी चीनको महत्वपूर्ण राजनीतिक परामर्श निकाय हो, जसले विधायिका तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै आर्थिक कनेक्टिभिटी, अन्तरदेशीय पहल तथा रणनीति निर्माणमा भूमिका निर्वाह गर्छ।

भेटका क्रममा विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमा विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन्। साथै राजनीतिक आदान–प्रदान, जनस्तरको सम्बन्ध विस्तार र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।

भेटपछि मन्त्री खनालले चीन र नेपालको लामो समयदेखिको मित्रता अझ प्रगाढ बनाउने वाङ हुनिङको प्रतिबद्धताको प्रशंसा गरेका छन्।

“दुई देशबीचको लामो समयदेखिको मित्रतालाई थप सुदृढ बनाउने उहाँको प्रतिबद्धताको म उच्च सराहना गर्दछु,” उनले भनेका छन्।

यसअघि सोमबार मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेशमन्त्री वाङ यी तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।