कांग्रेस विधानमा ७ नयाँ प्रावधान थपिँदै (हेर्नुहोस्)

कांग्रेस विधानमा ७ नयाँ प्रावधान थपिँदै (हेर्नुहोस्)

काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । आगामी मंसिर ५ देखि ९ गते सम्म हुने महासमिति बैठकमा पेस गर्ने गरी महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा लेखनलाई अन्तिम चरणमा पुर्याएको बताइएको छ ।

कांग्रेसको संशोधन हुन लागेको विधानमा मुख्यगरी सात विषयमा नयाँ प्रावधान राखिने भएको छ । देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको विधान सोहीअनुसार तयार पारेको हो ।  समितिका संयोजक पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजनमा उपसमितिले तयार पारेको मस्यौदाअनुरूप अब कांग्रेसको वडा समितिदेखि केन्द्रीय कार्यसमितिसम्म पदाधिकारी वा सदस्य बन्न बुथ समितिबाटै अनिवार्य रूपमा निर्वाचित हुँदै आउनुपर्नेछ । आज बस्ने मस्यौदा समितिको पूर्ण बैठकमा पेस गर्न तयार गरिएको मस्यौदा दिलेन्द्र बडू, आनन्द ढुंगाना र रमेश लेखकले तयार गर्नुभएको हो ।

मस्यौदामा उल्लेखित प्रावधानमा केन्द्रीय सभापति, पदाधिकारी र सदस्यले समेत बुथ समितिबाट, वडा, गाउँ वा नगर इकाइ, प्रदेश क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरी निर्वाचित भएपछि मात्रै केन्द्रको उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको बताइएको छ ।

केन्द्रमा उम्मेदवार हुन बुथ समितिबाटै निर्वाचित हुनुपर्ने, सदस्यता मतदाता नामावली भएकै स्थानमा हुनुपर्ने, सदस्यता एउटै प्रकृतिको, टिकट बाँड्ने संसदीय समिति चार तहमा हुने, तीन तहमा स्थायी प्रकृतिका अनुशासन समिति बन्ने, समावेशी कोटामा एकपटक मात्रै उम्मेद्धार बन्न पाउने र केन्द्रीय कार्यसमिति १२१ देखि १२५ सम्म हुने काँग्रेसको बिधानमा नयाँ व्यवस्था गरिएको छ ।