भारतीय पर्यटकको लापरवाही कि हाम्रो व्यवस्थाको नाङ्गो यथार्थ ?

भारतीय पर्यटकको लापरवाही कि हाम्रो व्यवस्थाको नाङ्गो यथार्थ ?

-मालिका केशरी-

Facebook.com/MalikaKeshari

नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा पछिल्ला वर्षहरूमा भारतीय पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी उत्तर भारतको चर्को गर्मीबाट राहत खोज्दै हिमाली क्षेत्रको शीतलता अनुभव गर्न तथा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, मनकामना लगायतका धार्मिक स्थलहरूको दर्शन गर्न आउने भारतीयहरूको लर्को दिनप्रतिदिन बढिरहेको छ । उनीहरूले आफ्ना सामाजिक सञ्जालमार्फत नेपालका हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र सांस्कृतिक विविधतालाई करोडौं दर्शकमाझ पुर्‍याइरहेका छन् । आज भारतमा नेपालका धेरै पर्यटकीय स्थलहरू चर्चित हुनुमा यस्ता पर्यटकहरूको योगदान पनि कम छैन ।

तर दुर्भाग्यवश, नेपाली सामाजिक सञ्जालको एउटा पक्षले यो वास्तविकतालाई सकारात्मक दृष्टिले हेर्न सकेको छैन । केही व्यक्तिहरूले भारतीय पर्यटकहरूले नदी किनारमा कपडा सुकाएको, गाडीमै बसेर खाना पकाएको, सार्वजनिक स्थलमा आराम गरेको वा शौचालयको अभावमा खुला स्थानको प्रयोग गरेको दृश्यलाई केन्द्रमा राखेर उनीहरूको उपहास गर्ने, गाली गर्ने र उनीहरूको सभ्यतामाथि प्रश्न उठाउने काम गरिरहेका छन् । अझ केही सामग्रीहरूमा उनीहरूलाई अपमानित गर्ने, तर्साउने वा हातपातसम्म गरिएका दृश्यहरू पनि देखिन्छन्। सामाजिक सञ्जालमा केही भ्युज र केही डलर कमाउने लोभमा तयार गरिएका यस्ता सामग्रीले न केवल व्यक्तिको सम्मानमा चोट पुर्‍याउँछन्, बरु नेपालको छविलाई समेत कमजोर बनाउँछन् ।

तर प्रश्न उठ्छ-समस्या वास्तवमै पर्यटकहरूको व्यवहारमा छ कि हाम्रो व्यवस्थापनमा ?

धार्मिक पर्यटन संसारभरि नै मितव्ययी यात्रासँग जोडिएको हुन्छ । तीर्थयात्रीहरू विलासी सुविधा खोज्दै यात्रा गर्दैनन् । उनीहरूको प्राथमिकता धार्मिक आस्था, दर्शन र आध्यात्मिक अनुभव हुन्छ । नेपालबाट भारतका चारधाम, काशी, वृन्दावन, हरिद्वार वा वैष्णोदेवी जाने हजारौं नेपाली श्रद्धालुहरूको यात्रा शैली पनि यस्तै हुन्छ । उनीहरू पनि महँगा होटलमा बस्दैनन्, धेरैजसो आफैं खाना पकाउँछन् वा सस्तो भोजनालयको सहारा लिन्छन् । भारतका अधिकांश धार्मिक केन्द्रहरूमा धर्मशाला, सार्वजनिक शौचालय, विश्रामस्थल, निःशुल्क वा न्यून शुल्कमा भोजनको व्यवस्था तथा तीर्थयात्रीलाई लक्षित आधारभूत पूर्वाधारहरू निर्माण गरिएका छन् । त्यसैले लाखौं मानिसको आवागमन हुँदा पनि व्यवस्थापन सहज हुन्छ ।

नेपालमा भने अवस्था त्यति उत्साहजनक छैन । धेरै धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका शौचालय पनि सफा र प्रयोगयोग्य अवस्थामा हुँदैनन् । धर्मशालाको अभाव छ। विश्रामस्थल, सार्वजनिक स्नान क्षेत्र, खाना पकाउन मिल्ने निर्धारित स्थान तथा फोहोर व्यवस्थापनको प्रभावकारी संयन्त्र प्रायः देखिँदैन । लाखौं पर्यटक भित्र्याउने सपना देख्ने तर उनीहरूका लागि आधारभूत सुविधा समेत उपलब्ध गराउन नसक्ने अवस्था आफैंमा गम्भीर विडम्बना हो ।

यस्तो परिस्थितिमा कुनै पर्यटकले नदी किनारमा कपडा सुकायो, गाडीमै खाना पकायो वा अस्थायी रूपमा खुला स्थान प्रयोग ग¥यो भने त्यसलाई केवल उसको असभ्यता भनेर व्याख्या गर्नु न्यायोचित हुँदैन । बरु त्यसले हाम्रो पूर्वाधारको कमजोरी, व्यवस्थापनको अभाव र दीर्घकालीन पर्यटन नीतिको खडेरीलाई उजागर गरिरहेको हुन्छ । अतः समस्या पर्यटकमा भन्दा धेरै हदसम्म हाम्रो तयारी र व्यवस्थापनमा रहेको स्वीकार गर्न सक्नुपर्छ ।

अर्कोतर्फ, हामीले पर्यटनलाई केवल विदेशी मुद्रा आर्जनको माध्यमका रूपमा मात्र हेर्ने प्रवृत्ति पनि त्याग्नुपर्छ । पर्यटक भनेका ग्राहक मात्र होइनन्, उनीहरू देशका अनौपचारिक राजदूत पनि हुन् । उनीहरूले यहाँबाट लिएर जाने अनुभवले भविष्यमा हजारौं सम्भावित पर्यटकको निर्णयलाई प्रभावित गर्न सक्छ । कुनै एक व्यक्तिको अपमान वा दुव्र्यवहारको भिडियो लाखौं मानिससम्म पुग्दा त्यसले नेपालको आतिथ्यता र सामाजिक संस्कृतिमाथि नै प्रश्न खडा गर्न सक्छ ।

यस सन्दर्भमा सरकारले अबिलम्ब केही ठोस कदम चाल्न आवश्यक छ । पहिलो, प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्याप्त सार्वजनिक शौचालय, स्नानगृह, विश्रामस्थल र धर्मशालाको निर्माण गरिनुपर्छ । दोस्रो, तीर्थयात्री र पर्यटकका लागि खाना पकाउन मिल्ने व्यवस्थित सामुदायिक क्षेत्र तथा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिनुपर्छ । तेस्रो, स्थानीय तहलाई पर्यटनमैत्री पूर्वाधार निर्माणका लागि विशेष बजेट र अधिकार प्रदान गरिनुपर्छ । चौथो, पर्यटकसँग दुव्र्यवहार गर्ने वा सामाजिक सञ्जालमा अपमानजनक सामग्री बनाएर सार्वजनिक गर्ने कार्यलाई निरुत्साहित गर्न कानुनी तथा नीतिगत व्यवस्था आवश्यक छ । साथै, धार्मिक पर्यटनलाई लक्षित गरेर दीर्घकालीन राष्ट्रिय योजना निर्माण गर्नु पनि उत्तिकै जरुरी छ ।

जनमानसको व्यवहारमा पनि परिवर्तन आवश्यक छ । हामीले पाहुनालाई सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा उतार्नुपर्छ। कुनै पर्यटकले नियम उल्लङ्घन गरेको देखिएमा उसको अपमान गर्ने होइन, सभ्य तरिकाले सचेत गराउने संस्कार विकास गर्नुपर्छ । सामाजिक सञ्जाललाई घृणा फैलाउने माध्यम होइन, सकारात्मक सूचना र चेतना प्रवाह गर्ने माध्यम बनाउनुपर्छ । पर्यटकको राष्ट्रियता हेरेर होइन, मानवताको दृष्टिले व्यवहार गर्ने परिपक्वता समाजमा विकास हुनुपर्छ ।

हामीले एउटा महत्वपूर्ण सत्य बुझ्न आवश्यक छ-पर्यटकले हाम्रो देशमा कति पैसा खर्च गर्छ भन्नेभन्दा महत्वपूर्ण कुरा उसले यहाँबाट कस्तो अनुभव लिएर फर्किन्छ भन्ने हो । खर्च गराउने वातावरण सिर्जना गर्ने जिम्मेवारी पर्यटकको होइन, हाम्रो हो । गुणस्तरीय सेवा, स्वच्छ वातावरण, सुरक्षित गन्तव्य र सम्मानजनक व्यवहारले मात्र पर्यटकलाई आकर्षित गर्न सक्छ ।
त्यसैले आज आवश्यक परेको कुरा पर्यटकलाई होच्याउने होइन, आफ्ना कमजोरीहरू पहिचान गर्ने साहस हो ।

सामाजिक सञ्जालमा सस्तो लोकप्रियता खोज्नुको सट्टा पर्यटनमैत्री पूर्वाधार निर्माण, सरसफाइ व्यवस्थापन र अतिथि सत्कारको संस्कृतिलाई बलियो बनाउने दिशामा लाग्न सके मात्र नेपालले पर्यटनको वास्तविक लाभ प्राप्त गर्न सक्छ । आखिर पर्यटकले देख्ने पहिलो अनुहार हाम्रो देशकै हो । त्यसैले उनीहरूलाई देखाउने व्यवहारले नै हाम्रो सभ्यता, संस्कार र राष्ट्रको स्तर निर्धारण गर्छ। पर्यटकको अपमान गरेर होइन, सम्मान गरेर मात्र नेपालले आफूलाई एक जिम्मेवार, सभ्य र विश्वसनीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सक्छ ।