

पोखरा, १६ कार्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल टी–ट्वान्टी क्रिकेटमा प्रतियोगितामा आज काठमान्डु रोयल्स र धनगढी ब्लुज बिजयी भएका छन् । पहिलो खेलमा धनगढी ब्लुजले घरेलु टोली पोखरा पल्टनलाई २ विकेटले हराएको छ ।
जितसँगै धनगढीले शीर्ष तीनमा पुग्ने संभावना कायमै राखेको छ । १ सय ४५ रनको लक्ष्य पछ्याएको धनगढीलाई जिताउन दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेका थिए । २६ बल खेलेका दीपेन्द्रले ४ छक्का र ४ चौकासहित ४९ रनमा नट आउट रहे । यसैगरी पिटर टेगोले ५३ तथा सुवेन्दु पाण्डेले २२ रन जोडेका थिए । बलिङतर्फ रासिद खानले चार तथा ललित राजंवशी र विक्रम भुसालले दुई दुई विकेट लिए । त्यसअघि घरेलु टोली पोखरा पल्टनले टस जितेर पहिला ब्याटिङ गर्दै ८ विकेटको नोक्सानीमा १४४ रन बनाएको थियो ।
पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रन बनाउँदा रविन्दर सिंहले २८ रन जोडे । आशिफ शेखले २३ रन जोड्दा रासिद खान १५ रनमा नट आउट रहे । कप्तान शरद भेषावकरले १४ रन बनाउँदा मोहम्मद नाभिद ११ रनमा आउट भएका थिए । बलिङतर्फ धनगढीका कमलसिंह ऐरीले चार तथा पिटर ट्रेगो, डेनीयल लरेन्स र रविन क्षेत्रीले एक एक विकेट लिए ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौंले सोमपाल कामीको बुटवललाई ३७ रनले हराएको छ । पोखरा रंगशालामा काठमाडौंले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । बुटवलका लागि रोहन मुस्तफाले ६१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सिद्दान्त लोहनीले १३, भिम सार्कीले १२ तथा चिराग सुरीले ११ रन जोडे ।
काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ अर्धशतकीय इनिङस खेले । उनले २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान ज्ञानेन्द्र २५ रनमा अविजित रहे । नरेश र ज्ञानेन्द्रले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । जितसँगै काठमाडौंले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।
काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । अब अन्तिम खेलमा काठमाडौंले शनिबार पोखरा पल्टनसंग खेल्नेछ । यता, बुटवलले तेस्रो हार व्यहोरेको छ । बुटवलले ५ खेलबाट ४ अंक जोडेको छ । बुटवलको पनि प्ले अफ सम्भावना कायम छ । तर, बुटवलको प्ले अफ यात्रा अन्तिम दिनको खेलले तय गर्नेछ ।