सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय सीमा असार मसान्तसम्म थप गरेको छ।

आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विदेशमा रहेका तथा आवश्यक कागजात संकलनमा कठिनाइ भएको भन्दै आएको गुनासोलाई ध्यानमा राख्दै म्याद थप गरिएको हो।

यसअघि जेठ १ गते आयोगले पूर्वप्रधानमन्त्रीदेखि सहसचिवसम्मका पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो। सोअनुसार जेठ मसान्तसम्म विवरण बुझाइसक्नुपर्ने व्यवस्था गरिएको थियो।

तर म्याद सकिन तीन दिन बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता गणेश केसीका अनुसार आज बढेको चाप र सहजतालाई ध्यानमा राख्दै अन्तिम पटकका लागि म्याद थप गरिएको हो। उनले हालसम्म प्राप्त विवरणको जाँचबुझ प्रक्रिया पनि सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।