काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालको राष्ट्रिय हित र सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीका भनाइ र त्यसलाई समर्थन गर्ने केही पक्षका गतिविधिले नेपाललाई “सीमा अतिक्रमणकारी देश” भनेर गलत रूपमा प्रस्तुत गर्न खोजिएको आरोप लगाए।
राईले सामाजिक सञ्जालमा समेत तथ्यहीन सामग्री फैलाएर देशको छवि कमजोर बनाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए। उनले यस्तो प्रवृत्तिले राष्ट्रको सम्मानमा आँच पुर्याउने र गलत मानसिकता विकास भइरहेको टिप्पणी गरे।
उनले अघिल्लो प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको विषय दोहोर्याउँदै त्यसबारे स्पष्टिकरण र आत्मालोचना आवश्यक रहेको बताए।
सचेतक राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर उक्त अभिव्यक्तिबारे जवाफ लिनुपर्ने र आवश्यक परे संसदीय रुलिङ जारी गर्नुपर्ने मागसमेत गरे।