

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित हुँदा विपक्षी दलसँग सोध्नुपर्ने ठोस प्रश्न नै नरहेको दाबी गरेका छन्।
मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्दा अपेक्षा गरिएजति प्रश्न नआएको बताए।
उनले भने, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो हुने भएको भए त सुरुमै सदनमा जानुहुन्थेन। उहाँ उपस्थित हुँदा सोध्ने प्रश्नहरू नै रहेनछन्। हामीले जति प्रश्न आउला भनेर सोचेका थियौं, प्रधानमन्त्रीज्यूले पनि जति अपेक्षा गर्नुभएको थियो, त्यति प्रश्न आएनन्।’
प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित हुन वा जवाफ दिन कुनै असहजता नरहेको पनि उनले स्पष्ट पारे।
आवश्यकता अनुसार प्रधानमन्त्रीले आगामी दिनमा पनि सदनमा सम्बोधन गर्ने बताउँदै पोखरेलले भने, ‘मैले यसअघि पनि भनेको थिएँ, आवश्यकता परे प्रधानमन्त्रीज्यूले फेरि सदनमा सम्बोधन गर्नुहुन्छ। उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा पछिल्लो सम्बोधनबाट पनि स्पष्ट भइसकेको छ।’
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर संसद्मा देखिएको विवादका बीच सरकारका तर्फबाट आएको यो प्रतिक्रिया अर्थपूर्ण रूपमा हेरिएको छ।