

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सिंगापुरमा सम्पन्न फाइनल खेलमा हङकङलाई डकवर्थ–लुइस (डीएल) पद्धतिअनुसार १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।
हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भएको थियो। त्यसपछि डीएल पद्धतिअनुसार नेपाल विजयी घोषित भएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए। रोहित पौडेल ३५ रनमा अविजित रहे भने कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे।
ओपनर आसिफ शेख भने खाता नै नखोली आउट भएका थिए। दोस्रो विकेटका लागि कुशल र रोहितले ४६ बलमा ६३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यसअघि सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो।
हङकङका लागि अन्सुमन रथले ४५ बलमा ६ चौका र ६ छक्कासहित ८० रनको उत्कृष्ट पारी खेले। साहिद वासिफले ५५ रन तथा शिव माथुरले २६ रन जोडे। नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहँदै ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
यस प्रतियोगिताको सेमिफाइनलमा पुगेपछि नेपाल, हङकङ, मलेसिया र ओमानले सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि यसअघि नै स्थान सुरक्षित गरिसकेका थिए।
एसियाली खेलकुदमा यी चार टोलीले अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका तथा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछन्। पुरुष क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर ४ देखि सुरु हुने छ भने फाइनल अक्टोबर ३ मा खेलिनेछ।