नेपाल एशियन गेम्स क्रिकेटको फाइनलमा, ओमान ८ विकेटले पराजित

नेपाल एशियन गेम्स क्रिकेटको फाइनलमा, ओमान ८ विकेटले पराजित

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरअन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको ओमान सुरुदेखि नै दबाबमा परेको थियो। करण केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि ओमान ३ ओभरमा ९–३ को कमजोर अवस्थामा पुगेको थियो। मध्यक्रममा सुफियान महमुदले ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। ओमान २० ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै सीमित भयो।

नेपालका बलरहरूले सशक्त प्रदर्शन गर्दै ओमानको ब्याटिङ ध्वस्त पारे। करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे।

९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गर्‍यो। कुशल भुर्तेलले ८ बलमा २० रन बनाए। प्रारम्भिक विकेट गए पनि लोकेश बम र कप्तान रोहित पौडेलले सहज रूपमा लक्ष्य पूरा गराए।

लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ४४ रन बनाए, जसमा ७ चौका र १ छक्का समावेश थियो। यस जितसँगै नेपालले एसियन गेम्सको मुख्य प्रतियोगितामा समेत स्थान सुरक्षित गरिसकेको छ। आजको खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै पक्ष पूर्ण रूपमा प्रभावशाली देखिएको थियो।