संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न आज सर्वदलीय बैठक

संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न आज सर्वदलीय बैठक

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। संसद्को जारी अवरोध अन्त्य गर्ने विषयमा सहमति खोज्न बैठक आयोजना गरिएको हो।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

पाँचदिने भारत भ्रमण सम्पन्न गरी जेठ २२ गते स्वदेश फर्किएका सभापति लामिछानेले संसद्को अवरोध अन्त्य गर्न राजनीतिक दलहरूबीच संवाद आवश्यक रहेको भन्दै सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गर्दै आएका छन्।

विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने, माफी माग्नुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने अडान राखिएको छ। माग पूरा नभएसम्म संसद् चल्न नदिने चेतावनी विपक्षी दलहरूले दिएका छन्।

यसैबीच, प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यसूची रहेको छ भने राष्ट्रियसभाको अर्को बैठक जेठ २६ गतेका लागि बोलाइएको छ।