इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको एउटा ‘ब्ल्याक बक्स’ भेटियो

इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको एउटा ‘ब्ल्याक बक्स’ भेटियो

एजेन्सी । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्ल्याक बक्स फेला परेको छ । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्ल्याक बक्सले मद्दत गर्ने राष्ट्रिय यातायात सुरक्षा समितिले जनाएको छ ।

समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्ल्याक बक्स एफडीआर (फ्लाइट डाटा रेकर्डर) हो वा सीभीआर (ककपिट भ्वाइस रेकर्डर) हो भन्ने अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यो उपकरणमा विमानको गति, उचाइ र दिशाका साथै चालक दलका सदस्यको कुराकानी जस्ता महत्वपूर्ण जानकारी सङ्ग्रहित हुन्छन् । केही महिना अघिदेखि मात्र प्रयोगमा ल्याइएको नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गएको सोमबार इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै एकसय ८९ जनाको मृत्यु भएको थियो ।

इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिको खोजी गरिरहेका छन् । उनीहरुले केही व्यक्तिका टुक्राटुक्रा भएका शरीरका विभिन्न भाग सङ्कलन गरेका र परीक्षण पश्चात सम्बन्धित परिवारजनलाई जिम्मा लगाइने तयारी भइरहेको छ ।