

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना छ।
महाशाखाले आज बिहान सार्वजनिक गरेको पूर्वानुमानअनुसार राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार आज काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना अत्यन्त न्यून छ। अपराह्न वा साँझतिर हल्का वर्षा हुन सक्ने भए पनि यसको सम्भावना करिब २० प्रतिशत मात्र रहेको उनले बताएका छन्।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई हल्का वर्षा भनिन्छ। १० मिलिमिटरभन्दा बढी तर ५० मिलिमिटरभन्दा कम वर्षा भएमा मध्यम वर्षा मानिन्छ। त्यस्तै ५० मिलिमिटरभन्दा बढी तर १०० मिलिमिटरभन्दा कम वर्षा भएमा भारी वर्षा, १०० मिलिमिटरभन्दा बढी तर २०० मिलिमिटरभन्दा कम वर्षा भएमा धेरै भारी वर्षा तथा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भएको मानिन्छ।
मौसम पूर्वानुमानमा ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना जनाइन्छ। १० देखि ३० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘केही स्थान’, ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘धेरै स्थान’ तथा ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’ भन्ने शब्द प्रयोग गरिन्छ। मौसमविद्हरूले वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।