जाजरकोटमा डेढ सय बढी नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

जाजरकोटमा डेढ सय बढी नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

जाजरकोट । दुई तिहाईका बलियो सरकारको नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) जनताका बीचमा कति अलोकप्रीय हुँदैछ भन्ने कुरा जाजरकोट घटनाले प्रष्ट पारिदिएको छ ।

निर्वाचन भएको एक बर्ष नपुग्दै नेकपा नेता कार्यकर्ताहरु भने पार्टी धमाधम पार्टी परित्या गर्न थालेका छन् । जाजरकोटमा बुधबार मात्र एक सय ७० भन्दा बढी स्थानीय नेकपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांगेसका युवा नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले पार्टीमा स्वागत गरे ।


कांग्रेस कुशे गाउँपालिकाले बुधबार आयोजना गरेको आमसभामा एकीकृत माओवादी केन्द्र बाट टिकट लिएर स्थानीय तहको निर्वाचनमा विजयी भएका वडा अध्यक्षसहित सदस्यहरु सामुहिक रुपमा कांग्रेसमा प्रवेश गरे । कुशे पाउँपालिका वडा ६का वडाध्यक्ष अमर शाही सहित ८ वटा सदस्य कांग्रेस प्रवेश गरे ।

 


कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभामा पार्टी प्रवेश गर्नेको लर्काे नै लागेको थियो । पार्टीमा स्वागत गर्दै नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं राज्यमन्त्री राणाले कांग्रेस प्रवेश गर्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए । उनले भने, ‘नेकपाले निर्वाचनमा जनतालाई झुटा आश्वासन दियो, आज त्यस अनुसार काम गर्न सकिरहेको छैन । उल्टै जनतामाथि ज्यादति र आतंक सिर्जना गर्ने काम सरकारबाटै भइरहेको छ ।’
दुई तिहाईको सरकारले शान्ति सुरक्षा र अमनचयन स्थापना गर्न नसकेको उनले दावी गरे । बलात्कार दिनदिनै भइरहेका छन्, सरकारकै संरक्षणमा फरक पार्टीमाथि आक्रमण भइरहेको छ, युवा नेता राणाले भने, सरकारको आलोचना बढ्न थालेपछि विरोधीलाई दवाउन आक्रमणमा उत्रिएको छ ।’

कांग्रेस प्रवेश गरेका अध्यक्ष वडाध्यक्ष शाहीले जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी सरकारमा भएपनि जनताका पक्षमा काम गर्न नसकेको दावी गरे । उनले कांग्रेसले मात्र देशमा विकास सम्भव भएको बताए । कार्यक्रममा कांग्रेसका नेताहरुले गाउँ गाउँ संगठन विस्तार गर्न लाग्ने बताए ।