

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले प्रधानमन्त्री बालेन शाह को सीमा सम्बन्धी अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको भन्दै आपत्ति जनाएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राई ले प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रिय स्वार्थविपरीत रहेको टिप्पणी गरे।
आइतबार संसद्मा बोल्दै प्रधानमन्त्री शाहले नेपालले पनि भारतका केही भूमि अतिक्रमण गरेको हुनसक्ने विषय अध्ययनका क्रममा जानकारीमा आएको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद उत्पन्न भएको छ।
प्रमुख सचेतक राईले प्रधानमन्त्रीले आफ्नो भनाइको आधार स्पष्ट पार्नुपर्ने माग गर्दै नेपालले भारतको कुन भूभाग अतिक्रमण गरेको हो भन्नेबारे तथ्य सार्वजनिक गर्न चुनौती दिए। उनले ‘भारतले आफ्नो भूमि फिर्ता मागे कुन क्षेत्र फिर्ता दिने हो?’ भन्ने प्रश्न उठाउँदै सरकारसँग स्पष्ट जवाफ मागे।
कांग्रेसले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ। साथै, माफी नआएसम्म संसद्को नियमित कार्यसूची अघि नबढाउनुपर्ने धारणा पनि कांग्रेसले राखेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पछिल्ला दिनमा विभिन्न राजनीतिक दल र नेताहरूले फरक–फरक प्रतिक्रिया जनाउँदै आएका छन्।