

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको संसद्मा व्यक्त गरिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यसको विरोध गरेका छन्।
विज्ञप्तिमा उक्त भनाइले नेपाल–भारत सीमा विवादका विषयलाई कमजोर बनाउने, विशेषगरी लिपुलेक र लिम्पियाधुरा सम्बन्धी नेपाली जनताको मागलाई ओझेलमा पार्ने आशय देखिएको आरोप लगाइएको छ।
साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको आधिकारिक धारणा र सीमासम्बन्धी अवस्थाबारे अन्योल सिर्जना गरेको दाबी गरेका छन्।
पार्टीले सरकारमाथि सीमा सुरक्षाप्रति पर्याप्त संवेदनशील नभएको आरोपसमेत लगाएको छ। विज्ञप्तिमा सीमा संरक्षण र भौगोलिक अखण्डताका विषयमा सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाइएको छ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर पछिल्ला दिनमा विभिन्न राजनीतिक दल तथा नेताहरूले समर्थन र विरोधका फरक–फरक प्रतिक्रिया जनाइरहेका छन्। श्रम संस्कृति पार्टीले पनि यस विषयमा आफ्नो असहमति सार्वजनिक रूपमा व्यक्त गरेको हो।