

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै खनालले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइलाई ‘गम्भीर, गलत र राष्ट्रविरोधी’ टिप्पणी गरेका छन् ।
उनले नेपाली जनता लामो समयदेखि विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै त्यस्ता विषयलाई हलुका रूपमा प्रस्तुत गर्नु उचित नहुने बताएका छन् । खनालले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण वा दस्तावेजका आधारमा उक्त अभिव्यक्ति दिएका हुन् भन्ने प्रश्न समेत उठाएका छन् ।
उनका अनुसार प्रधानमन्त्रीको भनाइले देशभित्र र बाहिर रहेका नेपालीहरूको राष्ट्रिय भावनामाथि चोट पुगेको छ । उनले यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्री पद सुहाउँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । खनालले प्रधानमन्त्री शाहलाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन् । साथै, उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारत दुवै पक्षबाट सीमा क्षेत्रमा अतिक्रमणसम्बन्धी विषयहरू रहेको र त्यसबारे संयुक्त अध्ययन तथा आपसी समझदारीमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ भने विभिन्न पक्षबाट समर्थन र विरोधका प्रतिक्रिया सार्वजनिक भइरहेका छन् ।