काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हुरी चल्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ ।
लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहनेछ भने पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहने सम्भावना छ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी तराई र कोशी तथा बागमतीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ ।
लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन महाशाखाले आग्रह गरेको छ ।