पिपिएलमा बल्ल बाजी मारे चितवन र बिराटनगरले

पिपिएलमा बल्ल बाजी मारे चितवन र बिराटनगरले

पोखरा, १४ कार्तिक । चितवन राइनोजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

आज भएको खेलमा धनगढी ब्लुजलाई १ सय २६ रनले हराएर चितवनले पहिलो जित निकालेको हो । पोखरा रंगशालामा चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढी १६ ओभर २ बलमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पिटर टेग्रोले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन जोडेको थियो ।
उत्कृष्ट सुरुवात गरेको चितवनका हरी शंकर साहले अर्धशतक बनाए । अघिल्ला दुई खेलमा पराजित भएको चितवनको यो पहिलो जित हो । जितसंगै चितवनले ३ खेलबाट २ अंक जोडेको छ । यसअघि चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पोखरा पल्टनसंग ५ विकेटले पराजित भएको थियो । आज भएको दोस्रो खेलमा बिराटनगर टाइटन्सले वुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको छ । पोखरा रंगशालामा विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।